कर्णाली प्रदेशको हुम्ला जिल्लामा खेती योग्य जमिन खुम्चिदै गएको छ । यस अघि हुम्ला जिल्ला भरका खेती योग्य जमिनमा रैथाने वाली उत्पादन हुने क्षेत्र हाल जिल्लाका ७ वटै गाउँपालिकामा खुम्चिदै गएको पाइएको छ । विशेष गरी हुम्ला जिल्लाको लामा बस्तीमा रहेका खेति योग्य जमिन खुम्चिदै गएको पाइएको हो ।
करेसाबारीबाट आलु निकाल्दै हल्जीका स्थानिय महिला

लामा वस्ती रहेको सिमकोट र नाम्खा गाउँपालिकामा रहेका खेती योग्य जमिन बढी जसो बाँजिदै गएका छन् । जिल्ला सदरमुकाम सिमकोटको वडा नं ४ बुराउसे, वडा नं ३ को वरगाउ, लिमाटाङ, हुटिक र तोर्पाका खेती योग्य जमिनहरु बन्जड भएका छन् । त्यसै गरी नाम्खा गाउँपालिकाको लेख धिगा, केर्मी, खंगालगाउँ रहेका छन् ।
खेती योग्य जमिनमा पशु चरिचर

नाम्खा गाउँपालिकाकै वडा नं ६ को जाँग गाउँमा पुरै खेती योग्य जमिन बाँजिएका छन् भने हल्जी गाउँमा केही घर धुरीले खेती गरेको पाइए पनि अधिकाँस जग्गा जमिन बाँजै रहेको देखिएको छ । उता तिल गाउँको पनि अवस्था त्यस्तै रहेको स्थानिय कोनुर्वु तामाङले बताएका छन् । जग्गा बाँजो रहनुमा मुख्य गरी युवा युवती रोजगारी, पठन पाठन सँगै व्यापार व्यवसायका लागी देश तथा विदेशका सहरमा लागे पछि यो अवस्था आएको सोही गाउँपालिका वडा नं ६ का वडा सदस्य छिरिङ तुण्डुप तामाङले बताएका छन् ।