पछिल्लो हिमपातले हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं ५ हिल्सामा स्थापना गरिएको यारी नाका भन्सार कार्यालयलको राजस्व असुली कार्य प्रभावित भएको छ । हिमपात भई रहेकोले चीनको पुलान काउण्टीबाट ब्यापारी र अन्य सामान खरिदका लागि गएका स्थानीय फिर्ता आउन सक्ने अवस्था नरहेको कारण राजस्व असुली प्रभावित भएको हो ।
शुक्रबार र शनिबारको हिमपातले हिल्सामा राजस्व असुली कार्य प्रभावित भएको कार्यालय प्रमुख रामराज जैसीले बताएका छन । उनले हिमपात भएकोले ताक्लाकोटबाट सामान ल्याएर आउने ब्यापारी र अन्य मानिसहरु फिर्ता आउन रोकिएको कारण हिल्सामा राजस्व असुली कार्य पनि रोकिएको जानकारी दिइका छन ।दुवै दिन ताक्लाकोटबाट एक जना मानिस पनि फिर्ता आएका छैनन ।
राजस्व असुली कार्य रोकिएपछि भन्सारका कर्मचारीहरु कार्यालयमा आगो तापेर बस्नु परि रहेको उनको भनाई छ । गत असोज ९ गतेबाट १२ गतेसम्म परेको हिउ नारा लेकको सडकबाट पन्छाएपछि कात्तिक ३ गतेबाट सुचारु हुदा ताक्लाकोटमा रहेका ब्यापारी अन्य मानिस फिर्ता हुन थालेपछि राजस्व असुली हुन थालेको भएपनि पून हिमपातले प्रभावित भएको हो । यस आर्थिक वर्षको साउन महिनायता सोह्र लाख ६५ हजार रुपियाँ सो नाकाबाट राजस्व असुली भई सकेको छ ।