कर्णाली प्रदेशको हुम्ला जिल्लामा प्रहरी सार्वजनिक सुनुवाइ अर्थात नागरिक सुनुवाइ कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा हुम्लाका प्रहरी नायव उपरिक्षक संकर खड्काले जिल्ला प्रहरी कार्यालय हुम्लाबाट भएका कार्य सम्पादनका बारेमा उपस्थितहरुलाई जानकारी गराएका थिए ।

प्रहरी नायव उपरिक्षक खड्काले कार्यक्रममा प्रहरीले आफ्नो क्षेत्रमा भएका गतिविधि, अपराध अनुसन्धानको अवस्था र सुरक्षा योजनाबारे संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए । उपस्थित नागरिकहरूले प्रहरीको व्यवहार, सेवाको ढिलासुस्ती, वा सुरक्षा चुनौतीबारे आ आफ्ना जिज्ञासा समेत राखेका थिए । जिज्ञासाहरूको प्रहरी नायव उपरिक्षक खड्काले सम्बोधन तथा जवाफ दिएका थिए ।
प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन, शान्ति सुरक्षा चुस्त राख्न र प्रहरी सेवालाई अझ बढी पारदर्शी एवं उत्तरदायी बनाउन यो कार्यक्रम आयोजना गरेकोमा जिल्ला प्रहरी कार्यालय हुम्लालाई धन्यवाद दिदै शान्ति सुरक्षा र अपराधीक घटना न्युनिकरण गर्ने काम प्रहरीको मात्र नभइ, जव सम्म तँपाइ हामी सचेत हुँदैनौ तव सम्म प्रहरीले केही पनि गर्न नसक्ने भन्दै विजया दशमी तथा शुभ दिपाली छट पर्वको शुभकामना प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइले व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय बासिन्दा तथा सेवाग्राही नागरिकहरू,नागरिक समाजका प्रतिनिधि, बुद्धिजीवी र सञ्चारकर्मीहरू, स्थानीय जनप्रतिनिधि तथा सामाजिक संघ-संस्थाका प्रतिनिधिहरू र सम्बन्धित क्षेत्रका प्रहरी प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थित रहेको नागरिक सुनुवाइ बुधबार दिनको १२ बजेबाट हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको थियो ।