संविधान दिवस, २०८३ को सुखद् अवसरमा कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन । यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण पनि गरेका छन ।

गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरूप्रति सम्मान एवम् श्रद्धा प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा पुर्व मुख्य मन्त्री शाहीले हुम्ला जिल्लामा संविधान दिवस मनाउने क्रममा गरेका छन ।
नेपाली जनताको संघर्ष र बलिदानको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौ । वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न हामी सबैलाई यस दिवसले एकजुट हुन प्रेरणा दिनेछ भन्ने अपेक्षा गरेको पुर्व मुख्य मन्त्री शाहीले व्यक्त गरेका छन।
हाम्रो संस्कृति र प्रकृतिले हामीलाई देशमा रोजगारी र आम्दानी दिने असीमित संभावनाको ढोका खोलेको छ । सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट हाम्रो जलस्रोत र उर्जा शक्तिको उचित व्यवस्थापन गर्न सके मात्र पनि नेपाल समुन्नत राष्ट्रको अग्र स्थानमा छिट्टै नै पुग्न सक्ने,हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनाको हाम्रो बहुजाति, बहुभाषी एवम् बहुसंस्कृतिलाई हाम्रो संविधानले समान संरक्षण प्रदान गरेको छ । यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन ।
नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ । संविधानद्बारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ ।
आजको यस अवसरमा संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ-आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा हार्दिक आव्हान गर्दै पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लामा आयोजित संविधान सभा दिवस मनाउने क्रममा शुभकामना सहित आफ्नो भनाइ समेत राखेका थिए ।