प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको नेतृत्वमा हुम्लाको एक टोली सोमबार हिल्सा हुँदै चीनको ताक्लाकोटतर्फ लागेको छ । चीनको पुराङ काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमा सुरक्षा सम्वन्धि हुने अनौपचारिक छलफल कार्यक्रममा भाग लिन सो टोली त्यसतर्फ लागेको हो ।
हुम्ला जिल्लाको सीमा क्षेत्र हिल्सा नाका नजिकै पर्ने ताक्लाकोटमा आयोजना गरिएको सीमा सुरक्षा सम्वन्धि अनौपचारिक छलफल कार्यक्रममा भाग लिन हुम्ला जिल्लाका सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधिको सहभागिता रहेको टोली त्यसतर्फ लागेको प्रमुख जिल्ला अधिकारी गुरागाईले बताएका छन । चीनको पुराङ काउन्टीस्थित स्थानीय प्रशासनले अनौपचारिक सम्वन्धि छलफल कार्यक्रम आयोजना गरेको आधिकारिक पत्र पठाएपछि हुम्लाको तर्फबाट पनि सहभागिताका लागि टोली त्यसतर्फ गएको हो ।
भदौ २९ देखि असोज १ गतेसम्म ( सेप्टेम्बर १४ देखि १७ ) सम्म प्रस्ताव गरिएको सीमा सुरक्षा सम्वन्धि अनौपचारिक छलफल कार्यक्रममा सहभागी हुन हुम्ला प्रमुख जिल्ला अधिकारी गुरागाई, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक नन्दबहादुर साउद, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक शंकर खड्का, राष्ट्रिय अनुसन्धान प्रमुख मेघराज कँडेल र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा सोमबार त्यसतर्फ गएका हुन । उनीहरु सोमबारै ताक्लाकोट पुग्ने कार्यक्रम रहेको छ ।
बैठकमा सहभागी हुने सुरक्षा निकायको टोली, जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी स्थलमार्गमार्फत नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ, नारा लेक, हिल्सा हुँदै ताक्लाकोट जाने कार्यक्रम रहेको छ । अनौपचारिक सीमा सुरक्षा छलफल कार्यक्रममा सीमानामा हुन सक्ने अपराध नियन्त्रण, व्यापारमा सहजीकरण तथा सीमावासी हुम्ला जिल्लाका स्थानीयको कैलास मानसरोवर यात्रा सहजीकरणका एजेन्डामा छलफल हुनेछ । बैठकमा दुई देशबिच नियमित रूपमा सीमा सुरक्षा बैठकको आयोजना गरिनुपर्ने, आपसी समन्वय र सहकार्यमा जोड दिनुपर्ने लगायतका विषयमा कुरा राखिनेछ ।
चीनको पुराङ काउण्टी र हुम्ला जिल्लाबिच भगिनी सम्वन्ध कायम गर्न एक बिशेष प्रस्तावमा हस्ताक्षर हुने नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले बताएका छन । त्यसैगरि सिमा क्षेत्रमा संभावित विपद जोखिमको अवस्थाका बारेमा पनि दुवै देशका अधिकारीले जानकारी गराउने कार्यक्रम रहेको छ ।