पहिरोले कर्णाली करिडोरको सिमकोट–हिल्सा खण्डको च्याछरा सडक अवरूद्ध भएको छ । चट्टानी भीरबाट ठुलो ढुङ्गासहितको पहिरो खसेर सडक अवरूद्ध भएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो ।आइतबार सिमकोटबाट नाँखा गाउँपालिका केन्द्र याल्वाङतर्फ गएका यात्रु सुरेश परियारले चार स्थानमा पहिरोले सडक अवरूद्ध गरेको कारण यात्रामा समस्या भएको बताएका छन ।
सडकमा खसेका ढुङ्गा यात्रुहरू मिलेर पन्छाए पनि पहिरो पन्छाउन नसकिएको कारण यात्रामा कठिनाई भएको उनको भनाइ छ । सिमकोट–हिल्सा खण्डको च्याछरा सडकमा चट्टानी भीर रहेको र माथिबाट ठुलो ढुङ्गा खसेको कारण सडक अवरूद्ध भएको उनले बताएका छन ।
च्याछराको सडकमा पहिरोले अवरूद्ध भएपछि दुई दर्जन भन्दा बढी पर्यटकहरू पनि अलपत्र परेका छन । उनहरू पैदल मार्गबाट हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शनका लागि निस्केका थिए । पहिरो पन्छाउने प्रयास भइरहेको सिमकोट–हिल्सा सडक योजनाका प्रमुख वेलबहादुर नेपालीले बताएका छन ।