हिमालपारिको गाउँ नाम्खा गाउँपालिकाको लिमीको तिलगाउँका स्थानीय बहाब बढेको खोलामाथि काठ बिछ्याएर जोखिमयुक्त तरिकाले तर्न बाध्य रहेको जानकारी प्राप्त भएको छ । गत असार ५ गते तिलखोलामा हिमताल चुहेर आएको बाढीले स्थानीयले जनश्रमदानबाट निर्माण गरेको पुल बगाएपछि अहिले काठको लप्कोबाट खोला तर्न बाध्य भएका हुन् ।
स्थानीयसँग अरू कुनै विकल्प नभएपछि दुई वटा काठ जोडेर पुल निर्माण गरी आउजाउ गर्ने व्यवस्था मिलाइएको छ । काठको लप्कोबाट वारपार गर्नु निकै जोखिमपूर्ण रहेको स्थानीय छिरिङ लामाले बताएका छन । “जोखिमपूर्ण काठेपुल तरेर तिलगाउँबाट लिमीकै हल्जी, जाङ, तुम्लिङ, ताक्ची, लाप्चा र सिमकोट जानु परिरहेको उनले बताएका छन ।खोलाको पानीदेखि डराउने मानिस सो काठेपुल भने तर्नै नसक्ने अर्का स्थानीय जाङ्मु लामाले बताएका छन ।
“एक्लै कसैले पनि सो खोला तर्ने आँट गर्नै नसक्ने उनले बताएका छन । दुई/तीन जना साथी भएपछि पुल तर्नुप र्छ । एकले अर्काको हात समाउँदै शरीरमा डोरी बाँधी तर्नु पर्छ । यो वर्षको हिमताल फुटेर आउने बाढीको सिकार तिलगाउँवासी भएको वडाध्यक्ष पाल्जोर तामाङले बताएका छन। एकातिर गाउँ नै बाढीको उच्च जोखिममा रहेको छ भने अर्कातर्फ तिलगाउँबाट अन्यत्र जान पनि जोखिम रहेको छ । त्यसैले बस्तीलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नका लागि उनले सरकारसँग आग्रह गरेका छन ।
यसअघि तिलखोलामा ट्रस ब्रिज निर्माण गरिएकोमा त्यो पनि गत असारमा आएको बाढीले बगाएको थियो । त्यसपछि स्थानीयले जनश्रमदानमा गत वर्ष निर्माण गरेको पुल असारको बाढीले बगाएको थियो ।