हुम्लाका तीन विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय बैठक सम्पन्न भएको छ । विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग गरी बालबालिकालाई सुरक्षित र पोषणयुक्त आहार उपलब्ध गराउने तथा स्थानीय किसानको उत्पादनको दिगो बजार सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।
गुड नेबर्स इन्टरनेशनल (GNI) नेपालले आफ्नो स्थानीय साझेदार सामुदायिक सुधार तथा विकास केन्द्र (SIDC) सँगको सहकार्यमा सञ्चालन गरिरहेको प्राकृतिक खेती जीविकोपार्जन परियोजना अन्तर्गत विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय प्राकृतिक खेतीका उत्पादन जोड्ने उद्देश्यले हुम्लाका तीन विद्यालयमा समन्वय बैठक विहिवार सम्पन्न गरेको छ।
सन् २०२३ देखि सञ्चालनमा रहेको यस परियोजनामार्फत स्थानीय किसानहरूले विषादी रहित, सुरक्षित तथा पोषणयुक्त तरकारी र अन्य कृषि उपज उत्पादन गर्दै आएका छन्। किसानद्वारा उत्पादित यस्ता कृषि उपजलाई विद्यालयको नियमित दिवा खाजा कार्यक्रममा प्रयोग गरी बालबालिकालाई स्वस्थ, पोषणयुक्त तथा सुरक्षित आहार उपलब्ध गराउनुका साथै स्थानीय उत्पादनको बजारीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।
समन्वय बैठक श्डल्ली आधारभूत विद्यालय सर्केगाड गाउँपालिका–४, श्री सीता माध्यमिक विद्यालय खार्पुनाथ गाउँपालिका–४ तथा श्री कालासिल्टा आधारभूत विद्यालय सिमकोट गाउँपालिका–६ मा सम्बन्धित स्थानीय तहको समन्वयमा सम्पन्न भएको थियो।
बैठकमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि, प्राकृतिक खेतीमा आबद्ध किसान, वडा प्रतिनिधि, स्थानीय सरकारका सरोकारवाला तथा परियोजनाका कर्मचारी गरी ७८ जना सहभागी भएका थिए।
कार्यक्रममा विद्यालय र किसानबीच नियमित आपूर्ति प्रणाली विकास गर्ने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने, बालबालिकालाई विषादीरहित तथा पोषणयुक्त खाद्य उपलब्ध गराउने र स्थानीय कृषि उत्पादनको दिगो बजार विकास गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
सहभागीहरूले विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय स्तरमै उत्पादन भएका प्राकृतिक कृषि उपजको प्रयोगले बालबालिकाको स्वास्थ्य र पोषणमा सकारात्मक प्रभाव पार्ने, किसानको आयआर्जनमा वृद्धि हुने, प्राकृतिक खेतीको प्रवर्द्धन हुने तथा स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
गुड नेबर्स इन्टरनेशनल नेपाल र SIDC ले आगामी दिनमा पनि स्थानीय सरकार, विद्यालय तथा किसानबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय, सुरक्षित तथा पोषणयुक्त खाद्य सामग्रीको प्रयोगलाई संस्थागत गर्ने प्रतिबद्धता जनाएको छ।