नेपालका ७७ जिल्ला मध्य सबै भन्दा अन्तिममा सडक संजाल जोडिएको हुम्ला जिल्लामा सवारी चाप बढ्दै गएको छ । सवारी चाप बढे संगै हुम्ला जिल्लामा दुर्घटना पनि बढ्दै गएका छन् । अव्यवस्थित कच्ची सडक त्यसैमा स्थानियवासीबाट सडकका छेउछाउमा निर्माण सामाग्री राखि दिदा यसले झन बढी दुर्घटना निम्त्याउने कार्यलाई प्रोत्साहित गरेको पाइएको छ ।

पटक पटक हुम्ला जिल्लामा स्थापना भएको ट्राफिक प्रहरीले सडकका छेउ छाउमा निर्माण सामाग्री संगै मल खात नराख्न उर्दी जारी गरे पनि त्यसलाई कोही कसैबाट कार्यान्वयन हुन सकेको छैन । जिल्ला सदरमुकाम सिमकोट सँगै दोश्रो ठुलो बजार सर्केगाड गाउँपालिका लगायतका क्षेत्रमा ट्राफिक प्रहरी कार्यालय हुम्लाले ट्राफिक नियम सम्बन्धी विद्यालय तथा समुदायमा जनचेतना फैलाउदै आएको छ ।
यसै बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले हुम्ला जिल्लाको सिमकोट गाउँपालिकामा स्थापित मानसरोवर नमुना माध्यामिक विद्यालयमा ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक प्रशिक्षण कार्यक्रम संचालन गरेको जानकारी प्राप्त भएको छ । कक्षा १० मा अध्ययनरत छात्रा तथा छात्रको उपस्थित रहेको कार्यक्रममा प्रहरी सहायक निरिक्षक दिनेश चौहानले ट्राफिक नियम , ट्राफिक नियम उलंङघन गर्दा सिर्जित हुने समस्या , ट्राफिक सचेतना , यसको औचित्य र आवश्यकता सम्बन्धि अभिमुखिकरण एवं सचेतना गरेको सोही विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताएका छन् । उक्त प्रशिक्षण कार्यक्रम मंगलबार संचालन गरिएको थियो ।