हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ र ५ मा गुड नेर्भस इन्टरनेशनल नेपाल र किडाक नेपालको संयुक्त आयोजनामा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ। लोकतन्त्र दिवसको अवसरमा विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला, चित्रकला र कविता प्रतियोगिता सञ्चालन गरिएको हो। कार्यक्रम वडा नम्बर ४ स्थित सीता माध्यमिक विद्यालय र वडा नम्बर ५ स्थित मान्धारा माध्यमिक विद्यालय खर्पेलगाउँमा आयोजना गरिएको जानकारी प्राप्त भएको छ।

सीता माध्यमिक विद्यालयमा कक्षा(स्तरका विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो भने मान्धारा माध्यमिक विद्यालयमा वक्तृत्वकलामा सदनगत तथा चित्रकला र कविता प्रतियोगिता आधारभूत तहका विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको फिल्ड संयोजक धनदेवी सिराले जानकारी दिएकी छन।
सीता माध्यमिक विद्यालयतर्फ वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीहरूबीच भएको प्रतिस्पर्धामा प्रशान्त जेठरा प्रथम, अञ्जली जेठरा द्वितीय, सुस्विता हमाल तृतीय र प्रदीप सिंह सान्त्वना भएका थिए । कविता प्रतियोगितामा प्रज्वल शाही प्रथम, सफलता रावल द्वितीय, आयुष्मा हमाल तृतीय र सृष्टि हमाल सान्त्वना भएका छन्। त्यस्तै चित्रकलातर्फ मुकेश रोकाय प्रथम, नरदेव टमटा द्वितीय, विमल परियार तृतीय र गौरव रोकाय सान्त्वना भएका सामाजिक परिचालक धनदेवी सिराले जानकारी दिएकी छन ।

मान्धारा माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगितामा एलो सदनकी अस्मिता कामी प्रथम, ब्लु सदनकी अनिता शाही द्वितीय, ह्वाइट सदनकी अमृता सिंह तृतीय र रेड सदनकी सृजना शाही सान्त्वना भएका छन्। कविता प्रतियोगितामा रमला सार्की प्रथम, रोशनी परियार द्वितीय, सुष्मा रोकाया तृतीय र युकेश सुनार सान्त्वना भएका छन्।
चित्रकलातर्फ अञ्जली शाही प्रथम, विकास सुनार द्वितीय, अजय ऐडी तृतीय र नन्द सुनार सान्त्वना भएका सामाजिक परिचालक अमरबहादुर ऐडीले जानकारी दिएका छन । प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानअनुसार शैक्षिक सामग्री पुरस्कार स्वरूप प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।