हिमाली जिल्ला हुम्लामा २ दिन ढिला गरी बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ । कर्णाली प्रदेश औषधि आपूर्ति केन्द्रले औषधि ढुवानीमा ढिलाइ गरे पछि नेपाल सरकारले देश व्यापीरुपमा बैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधी खुवाउने समय तालिका निर्धारण गरे पनि हुम्ला जिल्लामा २ दिन ढिला गरी बैशाख ८ र ९ गते खुवाइने जिल्ला स्वास्थ्य सेवा कार्यालयका पोषण फोकल प्रर्सन टसि पाल्जोर लामाले बताएका छन् । हुम्ला जिल्लाका ७ वटा गाउँपालिकाका स्वास्थ्य शाखाहरुले बैशाख ७ गते मात्रै औषधि जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाबाट बुझि लिएको फोकल प्रर्सन लामाले बताएका छन् ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाइने गरिन्छ । यस्तै ६ महिना भन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार पनि दिइने भएको छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई पनि खोप दिइने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख चिकित्सक डाक्टर उमाकान्त तिवारीले बताएका छन । दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब ५ हजार ३ सय ३३ हुम्लाका बालबालिकालाई भिटामिन ‘ए’ र ४ हजार ८ सय १२ जना बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको डाक्टर तिवारीले बताएका छन् । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन पनि जानकारी गराइएको छ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो । पोषण शाखाका प्रमुख टसि पाल्जोर लामाका अनुसार स्वयंसेविका परिचालन गरिने बताएका छन । ‘
हामीले जिल्लाका ७ वटा स्थानीय तहमा औषधी पठाइसकेकाले ‘स्थानीय तहले आफूलाई पायक पर्ने स्कुल, स्वास्थ्य चौकी वा कुनै सामुदायिक भवनमा राखेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने स्थान निर्धारण गर्ने बताएका छन् ।’भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।भिटामिन ‘ए’ ले हड्डीलाई मजबुत बनाउने, घाउ पुर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा छालालाई स्वस्थ राख्ने काम गर्छ । साथै, यसले भोजनलाई शक्तिमा परिवर्तन गर्नुका साथै कोषलाई समेत स्वस्थ राख्न मदत गर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।