यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा हुम्लामा तयारी तीव्र पारिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्लामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। जिल्लाभरका मतदान स्थल तथा मतदान केन्द्रमा खटिने कर्मचारीलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको हो। हुम्ला जिल्लाका ६० वटा मतदान स्थल र ६४ वटा मतदान केन्द्रमा खटिने ६४ मतदान अधिकृत र ६४ सहायक मतदान अधिकृतलाई १ दिन अभिमुखीकरण प्रदान गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा मतदान प्रक्रिया, मतपेटिका व्यवस्थापन, मतदाता परिचयपत्र परीक्षण, मतपत्र प्रयोग विधि, शङ्कास्पद अवस्थाको व्यवस्थापन, निर्वाचन आचारसंहिता पालना तथा मतगणना प्रक्रियाबारे विस्तृत जानकारी, मतदानका क्रममा उत्पन्न हुन सक्ने चुनौती र समाधानका उपायबारे स्पष्ट निर्देशन, मतदान केन्द्रमा खटिने कर्मचारी नै निर्वाचनको मेरुदण्ड हुन्, त्यसैले कानुनी प्रावधान र कार्यविधिबारे पूर्ण जानकारी गराइएको,मतदान केन्द्रको सुरक्षा व्यवस्थापन, आवश्यक निर्वाचन सामग्रीको प्याकेजिङ तथा ढुवानी, कर्मचारी परिचालन र समन्वयका कार्य अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताएका छन्।
मतदान केन्द्रको संवेदनशीलताका आधारमा सुरक्षा प्रबन्ध मिलाइएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालन गरी मतदानलाई शान्तिपूर्ण र भयमुक्त बनाइने तयारी गरिएको र आवश्यक मतपत्र, मतपेटिका, सिल, छाप र मतदाता नामावली समयमै सम्बन्धित केन्द्रमा पुर्याइने सहायक निर्वाचन अधिकृत श्रीदीप वाग्लले बताएका छन् ।

निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै निकाय बिच समन्वय गरिरहेको,मतदानका दिन सार्वजनिक बिदा दिइने र मतदातालाई समयमै मतदान केन्द्रमा उपस्थित भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताएका छन्।
कर्मचारी अभिमुखीकरण, सुरक्षा तयारी र सामग्री व्यवस्थापनसँगै हुम्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको सम्बन्धित निकायले जनाएको छ।जिल्लामा यसपटक ३४ हजार ३ सय ७२ मतदाता रहेका छन्। प्रतिनिधि सभा सदस्य पदका लागि ७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।