हुम्लाका नागरिकले विकास निर्माणमा सक्रिय रहने र जनताको आवाज बोकेर संसद्सम्म पुयाउने व्यक्तिलाई आगामी निर्वाचनमा भोट दिने बताएका छन् । विगतका निर्वाचनका अनुभव र जनप्रतिनिधिको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा यस पटक नागरिक सचेत र जिम्मेवार निर्णय गर्न चाहेको देखिएको छ । जिल्लाको वास्तविक समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने व्यक्तिलाई मतदान गर्ने हुम्लाका नागरिक अगुवाले बताएका छन ।जिल्लामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि जस्ता आधारभूत क्षेत्रमा अझै पनि पर्याप्त सुधार हुन नसकेको स्थानिय मतदाताले बताएका छन् ।
मतदाताले अब भाषण भन्दा कामलाई प्राथमिकता दिने नेतालाई भोट हाल्ने बताएका छन । स्थानीय तहदेखि प्रदेश र सङ्घीय तहसम्म विकासका योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा हुम्लावासीले लामो समयदेखि समस्या भोग्दै आएको गुनासो गरेका छन्। त्यसैले संसद्मा पुगेर जिल्लाको विकासका लागि बजेट सुनिश्चित गर्ने, नीति निर्माणमा सक्रिय भूमिका खेल्ने र जनताको पक्षमा आवाज उठाउने जनप्रतिनिधि आवश्यक रहेको मतदाताको भनाइ रहेको छ ।
विकास निर्माणका काममा पारदर्शिता, जवाफदेहिता र इमानदारिता देखाउने प्रतिनिधिप्रति जनताको भरोसा रहने बताइएको छ । यस पटकको निर्वाचनमा जात, पार्टी वा व्यक्तिगत सम्बन्ध भन्दामाथि उठेर कामका आधारमा मतदान गर्ने सोच बढ्दै गएको पाइएको छ । हुम्लाका विभिन्न क्षेत्रका नागरिकले अब परिवर्तन व्यवहारमा देखिनुपर्ने समय आएको बताएका छन् । युवालाई रोजगारी, किसानलाई उत्पादन र बजार, बिरामीलाई समयमै उपचार र विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने प्रतिनिधिलाई समर्थन गर्ने मतदाताले बताएका छन ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकेको छ । हुम्लाका गाउँबस्तीमा भने चुनावी रौनक देखिएको छैन । अधिकांश मतदाता व्यापारका सिलसिलामा जिल्ला बाहिर रहेका छन् । जिल्लाभित्र रहेका पनि चुनाव आएकोमा खुसी देखिएका छैनन् ।