हुम्ला जिल्ला अदालतले मेलमिलाप नितिलाई पहिलो प्राथामिकतामा राखेको छ । आर्थिक वर्ष ७९।८० को ९ महिनामा मेलमिलापका लागी वादी प्रतिवादीबाट परेका ११ वटा निवेदनहरुमा ११ वटै मेलमिलाप भएको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमकुमार आचार्यले बताएका छन् ।
सामान्यतया पारिवारिक विवाद, लेनदेन, जग्गा जमिन जस्ता देवानी प्रकृतिका मुद्दा र सानातिना कुटपिट, लुटपिट, गाली वेइज्जती लगायतका फौजदारी मुद्दाहरू र व्यापार वा व्यवसायिक प्रकृतिका कुनै पनि विवादमा मेलमिलाप प्रक्रिया अपनाउन सकिने भएकाले यस प्रकृतीका मुद्दा हुम्ला जिल्ला अदालतमा रहेको मेलमिलाप केन्द्रबाट मेलमिलाप गरीएको हुम्ला जिल्ला अदालतका वैतनिक कानून व्यवसायी अधिवक्ता राजन चन्दले बताएकी छन् । तर, नेपाल सरकारवादी हुने अर्थात् गम्भीर प्रकृतिका फौजदारी मुद्दामा मेलमिलाप हुन नसक्ने अधिवक्ता चन्द बताएकी हुन ।
आज सोमबार हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाको भवन निर्माण जग्गा सम्बन्धीको विवाद हुम्ला जिल्ला अदालतको मेलमिलाप केन्द्रबाट सहजीकरण गरी मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १ सय ९४ बमोजिम मिलापत्र गरिएको छ ।
सर्केगाड गाउँपालिकाको घर निर्माण भएको जग्गा धनी पुन्दबहादुर शाही र लालबहादुर शाही हुम्ला जिल्ला अदालतमा उपस्थित भइ कित्ता नं १ सय ४६ क्षेत्रफल ४ हजार ८ सय १० मध्य २ हजार ६ सय वर्गमिटर जग्गा गाउँपालिकालाइ चन्दा दान गर्ने र चन्दा दान गरेस्वरुप सिला लेखमा जग्गा धनीको नाम राख्ने विषयमा सहमती भए पछि सर्केगाड गाउँपालिकाको भवन निर्माणको विषयमा भएको जग्गा विवाद मिलापत्रबाट टुङ्गीएको हुम्ला जिल्ला अदालतका नायव सुब्बा एव इजलास सहाय पुष्पराज अधिकारीले बताएका छन् ।
मेलमिलाप के हो ।
विवाद समाधान गर्ने विभिन्न उपायहरू रहेका छन् । मेलमिलाप विवाद समाधानको विभिन्न उपाय मध्येको सर्वोत्तम उपाय हो । मुद्दा वा विवादका पक्षहरू बीचको विवादमा मान्य सहमतिमा पुग्न निष्पक्ष र तटस्थ तेस्रो पक्षबाट सहजकर्ताको रूपमा कार्य गर्ने र वार्ताको स्वेच्छिक र गोपनीय प्रक्रिया मेलमिलाप हो । आँफैले रोजेको मेलमिलापकर्ताको सहयोगमा दुवै पक्ष सहभागी भै छलफल गरी चित्त बुझ्ने गरी विवाद टुङ्गो लगाउने तरिकालाई मेलमिलाप भनिन्छ ।
मेलमिलापकर्ता भनेको के हो ।
पक्षहरूबीचको विवादलाई छलफल गराई सहज वातावरण निर्माण सिर्जना गर्न तथा सो विषयमा सहमति कायम गर्नका लागि विवाद वा मुद्दाका पक्षहरूलाई उत्प्रेरित गर्ने तथा विवादित कुनै वा सबै विषयवस्तुमा मेलमिलाप गराउने उद्देश्यले सहजकर्ताको रूपमा कार्य गर्न पक्षहरूले रोजेको व्यक्ति वा संस्थालाई मेलमिलापकर्ता भनिन्छ ।
कस्ता प्रकारका विवादमा मेलमिलाप प्रक्रिया अपनाउन सकिन्छ ।
सामान्यतया पारिवारिक विवाद, लेनदेन, जग्गा जमिन जस्ता देवानी प्रकृतिका मुद्दा, सानातिना कुटपिट, लुटपिटलगायतका फौजदारी मुद्दाहरू र व्यापार वा व्यवसायिक प्रकृतिका कुनै पनि विवादमा मेलमिलाप प्रक्रिया अपनाउन सकिन्छ । तर, नेपाल सरकारवादी हुने अर्थात् गम्भीर प्रकृतिका फौजदारी मुद्दामा मेलमिलाप हुन सक्दैन ।
मेलमिलापकर्ता को हुन् र कहाँ रहन्छन् ।
मेलमिलापकर्ता भन्नाले मेलमिलाप प्रक्रिया सञ्चालन गर्न योग्य र मेलमिलापको तालिम प्राप्त दक्ष व्यक्ति हो । हरेक अदालतका मेलमिलाप केन्द्रहरू र सामुदायमा सञ्चालित खासगरी गाउँपालिका सञ्चालित मेलमिलाप केन्द्रहरूमा यस्ता मेलमिलापकर्ताहरू सूचीकृत रहेका हुन्छन् ।