एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको हुम्लामा कुल ६० मतदान स्थल र ६४ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् । हुम्ला जिल्लाका ७ वटै गाउँपालिकामा रहेका केही मतदान स्थल र मतदान केन्द्र बाहेक अन्य सबैको अनुगमन तथा निरिक्षण सँगै अबलोकन समेत गरिएको छ ।
अनुगमन, नीरिक्षण तथा अवलोकन मुख्य निर्वाचन अधिकृत निलकण्ठ बराल नेतृत्वमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, निर्वाचन अधिकारी भिमबहादुर रोकाया, ४ वटै सुरक्षा निकाय प्रमुख र निर्वाचन आचार संहिता अनुगमन अधिकारीबाट संयुक्त रूपमा ती मतदान स्थलको स्थलगत निरीक्षण गरी सुरक्षा अवस्था, पहुँचमार्ग, सञ्चार सुविधा तथा आपत्कालीन व्यवस्थापनको अवस्थाबारे समीक्षा गरिएको मुख्य न्यायाधीश बरालले बताएका छन् ।
केही भौगोलिक विकटताको अवस्था सँगै हिमपातले सडक संजाल बन्द भएका गाउँपालिकाका वडाका मतदान स्थल तथा मतदान केन्द्रमा पुग्न नसकेको भए पनि अन्य मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन तथा निरिक्षण गरेको सहायक निर्वाचन अधिकृत श्रीदिप वाग्लेले बताएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिदै जाँदा हुम्लामा मतदान स्थल तथा केन्द्रको अनुगमनलाई तीव्र बनाइएको छ । २७ वटा मतदान स्थल ‘अति संवेदनशील’ सूचीमा परेका छन् । सम्भावित सुरक्षा चुनौती, भौगोलिक विकटता र विगतका निर्वाचन अनुभवलाई आधार मानेर ती क्षेत्रलाई अति संवेदनशील श्रेणीमा राखिएको हो ।
प्रतिनिधि सभा निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहँदा जिल्लामा चुनावी सरगर्मी बढेको छ । उम्मेदवार विकास, रोजगारी, सडक सञ्जाल विस्तार, कृषि आधुनिकीकरण तथा आधारभूत सेवामा सुधारका प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा पुगेका छन् । गाउँ बस्तीमा चुनावी बहस, छलफल, भेटघाट र प्रचारप्रसार कार्यक्रम तीव्र बनेका छन् ।
जिल्ला सुरक्षा समितिले मतदातालाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने सुनिश्चितता दिन सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेको जनाएको छ । संवेदनशील र अति संवेदनशील मतदान स्थलमा विशेष निगरानी, नियमित गस्ती, चेकजाँच तथा आवागमन व्यवस्थापनको योजना बनाइएको छ । निर्वाचनप्रति मतदातामा उत्साह देखिएको पाइएको छ । विगतका वर्षको तुलनामा यस पटक सुरक्षा व्यवस्थापन सुदृढ देखिएको छ ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सबै पक्ष संयमित र जिम्मेवार हुनुपर्ने बताइएको छ । हुम्लाको भौगोलिक बनावट निर्वाचन व्यवस्थापनका लागि चुनौतीपूर्ण मानिएको छ । हिमाली तथा दुर्गम भूभाग, कच्ची सडक, कमजोर सञ्चार सञ्जाल र लामो पैदल दुरीका कारण कतिपय मतदान स्थलमा सामग्री ढुवानी तथा मतपेटिका सङ्कलन गर्न कठिन हुने देखिएको छ ।
संवेदनशीलताको स्तर अनुसार सुरक्षा प्रबन्ध मिलाइएको पाइएको छ । अति संवेदनशील स्थलमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, नियमित गस्ती तथा विशेष निगरानीको व्यवस्था गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा निर्वाचन सुरक्षामा खटिने अस्थायी प्रहरीको परिचालन तयारी पूरा भएको जनाइएको छ ।