कर्णाली प्रदेश हुम्ला जिल्लाका उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत गरी लिमी लाप्चा, नारा, न्यालु लेख, मारुकोर, पन्चमुखी हिमाल लगायतका ठाउँमा मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताएका छन् ।
पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्य स्थलका बारेमा प्रयाप्त जानकारी लिई तयारीका साथ जान र खाना तथा आवासका लागि अग्रिम बुकिङ गर्न भनिएको छ । पदयात्रामा जाँदा एक्लै नगई समूहमा जान र हतार नगरी बिस्तारै उचाइतर्फ जान र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन आग्रह गरिएको छ ।
पदयात्रा गर्दा पञ्जा, टोपी, ज्याकेटलगायत न्यानो कपडा, तातोपानी सहितको थर्मस, लेक लाग्दा प्रयोग गरिने औषधि साथमा लिन समेत प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका छन । पर्याप्त मात्रामा तातोपानी, जीवनजल, झोलिलो खानेकुरा खान र धूमपान तथा मद्यपान नगर्न आग्रह गरिएको छ ।