कर्णाली प्रदेश हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका– १ र २ लाई जोड्नका लागि लालीबगरको लिगेमा कर्णाली नदी माथि नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसंगै सो स्थान भन्दा पचास मिटर पर यसअघि नदी तर्नका लागि निर्माण गरिएको तुईन बिस्थापित भएको हो । आफ्नो ठुलो समस्या समाधान भएको खार्पुनाथ गाउँपालिका– २ का वडा अध्यक्ष चन्द्र रावलले बताएका छन । गत असार २९ गते आफुले तुईनबाट कर्णाली नदी तरेको स्मरण गर्दै उनले अव भने झोलुङ्गे पुल तरेर नदी पार गरेको बताएका छन ।
२०७८ सालमा दुल्ली कुना लालीवगरको सडक निर्माण गर्ने क्रममा लिगेमा यसअघिको पुरानो झोलुङ्गे पुल भत्किएपछि खार्पुनाथ गाउँपालिकाले उक्त स्थानमा तुईन निर्माण गरेर वडा नम्बर १ र २ का बासिन्दाहरुलाई आउजाउ गर्ने बाटो खोलेको थियो । त्यसपछि धेरै पटक उक्त तुईन तरेर नदी वारपार गरेको बताउदै उनले निक्कै जोखिमपुर्ण यात्रा गर्नु परि रहेको अबस्थामा लालीको औल र थालीको जिउलाको लिगेमा नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएपछि तुईन मुक्त भएको बताएका छन । यसबाट दुई वटा वडाका सात सय भढी स्थानीय र कर्मचारी लावान्भित भएको उनको भनाई रहेको छ ।
खार्पुनाथ गाउँपालिका– १ र २ लाई जोड्ने लिगे झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएको पुर्वाधार बिकास कार्यालयका सवईन्जिनीयर झुलबहादुर शाहीले बताएका छन । यो झोलुङ्गे पुल निर्माणका लागि गत चैत २७ गते पुर्वाधार बिकास कार्यालयले उपभोक्ता समितिसंग सम्झौता गरेको थियो । तीन महिनामा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आउदा सो स्थानमा रहेको तुईन बिस्थापित भएको उनले बताएका छन ।
पुलको डिजाईनमा १०५ मिटर लम्बाई भएपनि निर्माणका क्रममा ९५ मिटर लम्बाईमा निर्माण कार्य भएको हो । यसका लागि कार्यालयले ९२ लाख छ हजार ३९६ रुपियाँ लागत लागेको छ । यो झोलुङ्गे पुल निर्माण भएर प्रयोगमा आएपछि सिङ्गो गाउपालिका तुईन मुक्त भएको छ । यसअघि खार्पुनाथ गाउँपालिका बिभिन्न स्थानमा गरि चार स्थानमा तुईन रहेकोमा ती तुईन भएका स्थानमा झोलुङ्गे पुल निर्माण गरिएपछि बिस्थापित भएका हुन । स्थानीयले कर्णाली नदी सुरक्षित रुपमा वारपार गर्दै आउना पाएका छन । यसका लागि स्नोल्याण्ड एकिकृत बिकास केन्द्रले प्राबिधिक सहयोग र समन्वय गरेको थियो ।