तीन वर्षमा हिमाली जिल्ला हुम्लाबाट अठ्ठाईस जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट सुविधा सम्पन्न अस्पतालमा उद्धार गरिएको छ । गर्भवती महिलालाई प्रशब ब्यथा लाग्दा जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसकिने,सुत्केरी महिलालाई उच्च रक्तश्रापको कारण अस्पतालको समन्वयमा जिल्ला बाहिर रिफर गरिदा हेलिकोप्टरबाट उद्धार गरि ज्यान समेत जोगाउने कार्य भएको हो ।
लगातार तीन आर्थिक वर्षमा २८ जना गर्भवती र सुत्केरी महिलाको सुर्खेतस्थित प्रदेश अस्पतालमा रिफरपछि हेलिकोप्टरबाट उद्धार गरेर ज्यान जोगाउने कार्य भएको जिल्ला अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताएकी छन । यस आवको साउन महिना यताको एक वर्षमा जिल्लाभरबाट आठ जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा हेलिकोप्टरबाट उद्धार गरिएको वरिष्ठ अनमी बोहराले बताएकी हुन ।
यसरी गर्भवती र सुत्केरीलाई गाउँपालिकाका स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा सुत्केरी गराउन र थप उपचार गर्न नसकिने भएपछि हेलिकोप्टरबाट सुविधा सम्पन्न अस्पतालमा उद्धार गरिएको हो । उनका अनुसार यस आवमा पहिलो उद्धारको घटना अदानचुली गाउँपालिका–५ मा गत साउन १६ गते भएको थियो । जसमा गर्भमा बच्चा उल्टो बसेको कारण ४३ वर्षकी सौमती ऐडीको हेलिकोप्टरबाट अदानचुलीबाट सुर्खेत उद्धार गरिएको थियो । त्यसैगरि अदाचुली गाउँपालिकाबाट अन्य तीन वटा सुत्केरी तथा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।
यता मङ्सीर र पुस महिना गरि सर्केगार्ड गाउँपालिकाबाट दुई जना ब्यथा लागेकी गर्भवतीको हेलिकोप्टरबाटै उद्धार भएको थियो । यता जिल्ला अस्पतालबाट दुई वटा जटिल खालका गर्भवती महिलालाई हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको थियो । त्यसैगरि आव ०८०।०८१ मा आठ जना र ०७९।०८० मा बाह्र जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । उनले अधिकाँस यसरी उद्धार गरिएकी महिलाहरु प्रशव ब्यथा लागेकी र केही भने सुत्केरीपछि उच्च रक्तश्रापको कारण उद्धार गरिएको बताएका छन ।
दुर्गमका गर्भवती महिलाका लागि सङ्घीय सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम निक्कै उपयोगी र फलदायी भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताएका छन । यो कार्यक्रमले दुर्गमका गर्भवती र सुत्केरी महिलामा ज्यान जोगाउन सफल भएको बताउदै उनले राज्यको लगानी सहि स्थानमा रहेको बताएका छन । सम्वन्धित स्वास्थ्य संस्था, गाउँपालिका, जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा कार्यक्रमले गर्भवती र सुत्केरी महिलाको उद्धार कार्य गर्दै आएको छ ।