कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी उक्त घोषणा गरिसकेका थिए । जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले आज जिल्लालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन ।
जन्मिए देखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १३ किसिमका खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख उमाकान्त तिवारीले बताएका छन् । आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप लगाउन सबैको समन्वय र सहकार्य आवश्यक रहेको उनले बताएका छन ।
आगामी दिनमा खोप अभियानलाई निरन्तरता दिँदै खोप लगाउनबाट कसैलाई पनि वञ्चित नगरिने बताउँदै खोप समन्वय समितिका संयोजक सर्माले महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीले गरेको सहयोगको प्रशंसा गरेका थिए । “पहिलो चरणमा गाली खाने महिला स्वास्थ्य स्वयम्सेविका भएकाले उनीहरुले पूर्ण खोप घोषणाका लागि गरेको काम निकै उदाहरणीय र प्रशंसायोग्य रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाँडेयले बताएका छन् ।सो अवसरमा जिल्लाका ७ वटै स्थानीय तहलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ ।