राज शाही बुधबार, आषाढ १५, २०७९ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट प्रस्तुत गर्दै आगामी वर्षभित्र हुम्लालाई सडक सञ्जालमा जोड्ने गरी बजेट विनियोजन गरिएको घोषणा गरे । तर ‘आगामी’ वर्षभित्रको आश्वासन बाँड्ने उनी पहिलो अर्थमन्त्री होइनन् । २०७१ सालदेखिका सबै अर्थमन्त्रीले प्रत्येक बजेटमा यही बाचा दोहोर्यारउँदै आएका छन् । हरेक वर्ष अर्थमन्त्रीले दिने बासी आश्वासनबाट हुम्लावासी भने आजित छन् ।
‘एउटाले बजेट ल्याउँछ, कार्यान्वयन गर्ने बेला अर्को पार्टीको सरकार हुन्छ, सबैले आगामी वर्ष भन्छन्, आगामी भन्दाभन्दै हामीले ९ वर्ष गुजारिसक्यौं,’ सिमकोटका व्यवसायी विजय लामाले भने, ‘सडककै कारण हामी अर्कै देशका नागरिकजस्ता छौं, हुम्लामा विकासको अनुभूति हुन सिमकोटमा सडक पुग्नैपर्छ ।’ साँच्चै आगामी वर्षभित्र हुम्लामा पुग्ला त गाडी ? ‘पर्याप्त बजेट, विस्फोटक पदार्थ र कामदार भए हामी त तयारी अवस्थामै छौं,’ सडक निर्माण कार्यदल प्रमुख सेनानी अनुप पोखरेलले भने, ‘बजेटकै कारण हाम्रो काम सिजनल भइरहेको छ ।’ उनका अनुसार यो वर्ष सरकारले २० करोड रुपैयाँ छुट्याएको छ ।
आवश्यकताअनुसार बजेट विनियोजन नहुँदा आफूहरूले सोचेजति काम गर्न नसकेको उनको भनाइ छ । हुम्लामा सडक निर्माणको योजना झन्डै २२ वर्ष पुरानो हो । २०५४ सालमा हुम्लामा भोकमरीसँगै फैलिएको भाइरल इन्फ्लुएन्जाबाट करिब ५० स्थानीयले ज्यान गुमाएपछि खाद्यान्न अभावको स्थायी समाधानका लागि तत्कालीन जिल्ला विकास समितिले चीनसँग सडक जोड्ने योजना बनाएको थियो ।
हालका कर्णाली मुख्यमन्त्री जीवनबहादुर शाही त्यतिबेला जिविस सभापति थिए । २०५७ सालबाट सुरु भएको हुम्लाको सडक निर्माणको काम अझै सकिएको छैन । सडक सुविधा नहुँदा स्थानीय उत्पादनले बजार पाउन सकेको छैन भने दैनिक उपभोग्य सामान नेपालगन्ज र सुर्खेतबाट जहाजमा १ सय २५ रुपैयाँ प्रतिकिलो ढुवानी गरी उपभोग गर्नुपर्ने बाध्यता छ । अहिले प्रदेश राजधानी सुर्खेतमा ७५ देखि ८० रुपैयाँ प्रतिकिलो पाइने चामल हुम्ला पुग्दा २ सय ५० रुपैयाँमा किन्नुपर्छ ।
सडक नभएकै कारण हुम्लाको विकास प्रभावित बनेको स्थानीय ओवराज शाहीले बताए । उनका अनुसार सडक सुविधा नहुँदा विकास बजेटको ७५ प्रतिशत रकम निर्माण सामग्री ढुवानीमा खर्च हुने गरेको छ । ‘सिमेन्ट बोराकै ८ हजार रुपैयाँ छ,’ उनले भने, ‘ढुवानी महँगो हुँदा साना विकास योजना निर्माण गर्न पनि कम्तीमा एक करोड रुपैयाँ खर्च हुन्छ ।’

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९