राज शाही शनिबार, कार्तिक २०, २०७८ मा प्रकाशित

कर्णाली प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाहीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुयाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीहरुको महान् चाड तिहार २०७८ को अवसरमा मुख्य मन्त्री शाहीले आज रेडियो कैलासमार्फत जारी गर्नुभएको शुभकामना सन्देशमा सो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

“झिलिमिली बत्तीको उज्यालोले औँसीको कालो अँध्यारोलाई जित्ने तिहार पर्व एक प्रतिकात्मक उत्सव पनि हो”, मुख्य मन्त्री शाहीले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “दिपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु ।”तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने सन्देशमा उल्लेख छ ।

“तिहारका अवसरमा देउसी, भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुयाउँछ”, शुभकामना सन्देशमा भनिएको छ, “यसका साथै देउसी, भैलोको दक्षिणाबाट सङ्कलित रकमबाट विद्यालय, चौतारा, धारा, पाटीपौवाको निर्माण तथा मर्मतसम्भारजस्ता सामुदायिक हितका रचनात्मक कार्य गर्ने असल परम्परासमेत तिहार पर्वसँग जोडिएका छन्, हाम्रा चाडपर्वसँग जोडिएका यस प्रकारका राम्रा परम्परा र अभ्यासलाई हामीले जगेर्ना गर्नुपर्दछ भन्ने मलाई लाग्दछ ।”

बडादसैँ पर्वको रमझम सकिएलगत्तै कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीको मौलिक चाडका रूपमा रहेको छ । यमपञ्चकसमेत भनिने तिहार पर्वमा काग, कुकुर, गाईगोरूलगायत पशुपक्षीका साथै धन, ऐश्र्वयकी देवी लक्ष्मीको पूजा, दिदी बहिनीद्वारा भाइको पूजा गरिनुका साथै देउसी, भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९